रेडियो शैलुङ्ग दोलखाका स्टेसन म्यानेजर विनिता शिवाकोटी सम्मानित

जेष्ठ १९ / रेडियो शैलुङ्ग दोलखाका स्टेसन म्यानेजर तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव विनिता शिवाकोटी (निर्मला) हेम कृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
शिवाकोटीलाई महिलाको क्षेत्रमा कलम चलाएर राष्ट्रिय र स्थानीय स्तरमा पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्योएको भन्दै महिला सम्मान राष्ट्रिय पुरस्कारबाट नगद १५ हजार सहित कदरपत्रले सम्मान गरिएको हो । शिवाकोटीलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले सम्मान गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाले हरेक बर्ष विभिन्न विधामा कलम चलाउने पत्रकारलाई सम्मान गर्दै आएको छ । यस बर्ष पनि विभिन्न विधामा कलम चलाउने पत्रकारलाई सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।
आयोजित कार्यक्रममा विकास पत्रकारिता पुरस्कार बाट सामुदायिक रेडियो प्रशारक संघका कोषाध्यक्ष लक्ष्मण खड्का, प्रदेश सदस्य पशुपति चौलागाँईको सहयोगमा स्थापना गरेको गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट पत्रकार दिपशंकर चौलागाँई, समाजसेवी माधवमणी राजभण्डारीले आफ्नो पिता स्व.इन्द्रमणी राजभण्डारीको स्मृतिमा स्थापना गर्नुभएको इन्द्रमणी पत्रकारिता पुरस्कार बाट श्याम खतिवडालाई पुरस्कृत गरिएको छ भने सुजल पत्रकातरिता पुरस्कारबाट कालिञ्चोक एफएमका समाचार प्रमुख उषा तमाङ पुरस्कृत हुनु भएको छ ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, नेपाल पत्रकार महुासंघ जिल्ला शाखा दोलखाका पुर्व सभापति एवंम सल्लाहाकार राजेन्द्र मानन्धर, पुर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, सामुदायिक रेडियो प्रशारक संघका कोषाध्यक्ष लक्ष्मण खड्का, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका उपाध्यक्ष लक्ष्मण थामी, पुर्व महान्याधीबक्ता मुक्ति प्रधान, नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव विनिता शिवाकोटी लगाएतले मन्तव्य व्यक्त राख्नु भएको थियो ।