नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १० लाख प्राप्त

१७ जेठ
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १० लाख प्राप्त भएको छ । भीमेश्वर नगरपालिकाबाट प्राप्त हुने गरी नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले यसअघिदेखिनै प्रक्रिया अगाडि बढाएको थियो । सांसद विकास कोषमार्फत सांसद पार्वत गुरुङले महासंघको भवन निर्माण लागि उक्त साझेदारी कार्यक्रमअन्तरगत गत आर्थिक वर्षमै रकम विनियोजन गरेका थिए ।
भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसी र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काद्धारा संयुक्त रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
महासंघको भवन निर्माण कार्य भईरहेको छ । हालसम्म ढलन निर्माण सकेको छ । ८ कोठे भवनमा दोलखाको सम्पूर्ण सूचना रहने र व्यवस्थित सेमिनार हल समेत निर्माण हुन लागेको छ । भवन निर्माणको लागि संस्थागत र व्यक्तिगत रुपमा सहयोग जुट्दै आएको छ । दोलखाका सबै नगरपालिका र गाउँपालिकाहरु समेतले भवन निर्माणको लागि आर्थिक सहयोग गर्दै आएको छ ।