​नेपाल र जापानबीच श्रम सम्झौता

 

नेपाली कामदार लैजाने विषयमा जापान र नेपालबीच श्रम सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच श्रम सम्झौता भएको हो ।

सम्झौतापत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन् ।

मन्त्रालय अन्तर्गतको एउटा विभागले संयन्त्र बनाएर त्यसमार्फत काम अघि बढाउने सहमति भएको छ । सम्झौताअनुसार जापानले पनि कोरियाले जस्तै भाषा परीक्षा पास गरेका कामदारलाई लैजाने भएको छ । संयन्त्रले अप्रिल १ देखि काम थाल्ने र भाषा परीक्षा उत्तीर्ण गर्नैपर्ने सम्झौताका क्रममा उल्लेख गरिएको छ ।

जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ लगायत एक दर्जन भन्दा बढी क्षेत्रमा काम गर्नका लागि नेपाली श्रमिकहरु लैजान लागेको हो ।

श्रमिकको छनोट प्रक्रिया आउँदो अप्रिल महिनाबाट सुरु हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । भाषाको ज्ञान तथा सम्बद्ध क्षेत्रको अनुभवका आधारमा उनीहरुले तोकिएको काम पाउनेछन् ।

यसअघि विभिन्न कन्सल्टेन्सी र म्यानपावर कम्पनीबाट जापान जानको लागि २० लाख रूपैयाँसम्म सर्वसाधारणले खर्च गर्ने गरेका थिए । तर, पछिल्लो सम्झौतापछि अब जापान जानका लागि त्यति धेरै खर्च गर्नु नपर्ने भएको छ ।